November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बिमा रकमका लागि नेपाल बन्दको मौका पारेर आफ्नै टिपरमा आगजनी

काठमाडौं । नेपाल बन्दको मौका पारेर दाङमा एकजना टिपर धनीले आफ्नै टिपरमा आगजनी गरेका छन् । बिमाका लागि विप्लव समूहले गरेको नेपाल बन्दको मौका पारेर घोराही उपमहानगरपालिका वडा नं १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीले आफ्नै टिपरमा आगजनी गरेको खुलेको हो ।

घोराही–लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो ।

भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको खुलेको जनाइएको छ । मर्मत खर्च धेरै आउन थालेपछि साहु भण्डारीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

आगजनीको घटना शंकास्पद देखिएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको बयानका आधारमा टिपरधनी भण्डारी पनि पक्राउ परेका छन् ।