काठमाडौं । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
मंगलबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गरी सरकारलाई सिफारिस गर्न आयोग गठन गरिएको बताए ।
यस्तै, बैठकले विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने यस अघिको निर्णय खोरज गर्ने निर्णय पनि गरेको छ । साथै बालाजु त्रिशूली सडक खण्डको मुड्खु तीनपिप्ले ५ दशमलव ५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको छ ।