काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक्ला एक्लै चुनाव लड्न चुनौती दिएका छन् । शनिवार खुलामञ्चमा पार्टीको उपत्यकास्तरीय भेलालाई सम्वोधन गर्दै लामिछानेले विभिन्न टुक्रा–टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको हुनाले एक्लै चुनाव लड्न चुनौती दिएका हुन् ।
‘टुक्राटुक्रा भएर फुटेका दलहरु मिलेर चुनाव लड्न आएका छन्, हो देशको आवश्यकता पर्दा गठबन्धन हुनुपर्छ, तर आम चुनावमा टुक्राटाक्री परेका ५/६ वटा दल मिलेर एक भएर यसरी जनतामा जानु भनेको ठगी हो । यस्तो ठगीलाई जनताले अनुमोदन गर्नु हुँदैन ।’ उनले भने ।
लामिछानेले आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै भने, ‘राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।’ उनले ‘बा’ पुस्ताका नेताहरुलाई आगामी चुनावमा नजिताउन समेत आग्रह गरे ।
यस्तै लामिछानेले आफ्नो पार्टीले राज्यको ढुकुटीबाट आफन्त पोस्ने काम कहिल्यै नगर्ने पनि प्रतिवद्धता गरेका छन् ।