काठमाडौं । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको शल्यक्रिया सफल भएको छ । आक्रमणबाट गम्भीर घाइते भएका सुलभलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज लगिएको थियो ।
स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाएकी थिइन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते बुधबार साँझ चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । आँगनमा खेलिरहेको उनलाई चितुवाले च्यापेर लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाएकी थिइन् । बालकलाई चितुवाले ५० मिटर माथिसम्म पुर्याएको थियो ।
आक्रमणबाट बालकको घाँटीमा गम्भीर चोट लागेको थियो । उपचारमा संलग्न एक चिकित्सकका अनुसार बालकको आँखा, नाक, मुखजस्ता महत्वपूर्ण अङ्ग क्षति हुनबाट जोगिएको र श्वासनली र घाँटी हुँदै रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको बताए ।
चिकित्सकका अनुसार बालकको घाँटीमा मल्टिपलपञ्चर (ठाउँ–ठाउँमा गहिरो चोट परेको र मासुसमेत च्यातिएको) थियो । देब्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाइएको छ भने घाँटीको शल्यक्रिया गरिएको छ । बच्चालाई सघन उपचार कक्षबाट साधारण कक्षमा सारिएको छ ।