November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

चुनाव लड्ने विषयमा निर्णय गरेको छैन : कुलमान घिसिङ

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनिच्छा प्रकट गरेका छन् ।

जनताको भावना समात्ने गरी उम्मेदवार अघि सार्ने माओवादी केन्द्रको अवधारणा स्वरुप काठमाडौंबाट घिसिङलाई उम्मेदवारी बनाउने चर्चाका विषयमा उनले निर्णय गरिनसकेको प्रतिक्रिया दिएका हुन् ।

देशमा लोडशेडिङ् हटाएको र भारतलाई बिजुली निर्यात गरेर प्राधिकरणको वित्तीय अवस्था बलियो बनाएको जस पाएका घिसिङले उम्मेदवार बन्ने निर्णय भइनसकेको प्रतिक्रिया दिएका हुन् । वीवीसीसँगको कुराकानीमा उनले भने,‘मैले चुनाव उठ्नेबारे केही निर्णय गरेको छैन । चर्चा त विभिन्न चलिराख्छन्। तर मैले निर्णय गरेको छैन।’

Advertisement

दोस्रो चार वर्षे कार्यकालका निम्ति घिसिङ एक वर्षअगाडि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका थिए। अर्थात् उनको अझै तीन वर्षको कार्यकाल बाँकी नै छ। उनलाई दोस्रो पटक पुनः नियुक्त गर्न माओवादी अध्यक्ष प्रचण्ड तथा माओवादी नेता एवं ऊर्जा मन्त्री पम्फा भुसालले पहल गरेका थिए ।