November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

आगामी निर्वाचनलाई लक्षित गर्दै प्रधानसेनापति शर्माको कडा निर्देशन

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाईको सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानीलगायत कार्यको लागि नेपाली सेना जिम्मेवारीपूर्वक खट्नु पर्ने बताएका छन् ।

जिम्मेवारी सम्हालेको एक वर्ष पुरा भएको अवसरमा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै उनले चुनावका बेला बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको वाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गरी आफ्नो व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न निर्देशन दिए ।

साथै राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना समय सीमाभित्रै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिए । प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समीक्षा गरेका थिए ।

Advertisement

नेपाली सेना सबै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गर्दै राज्यमा उत्पन्‍न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको समेत उनले उल्लेख गरे ।

साथै नेपाली सेनाको मूल्य, मान्यताको सम्बर्द्धन र प्रवर्द्धन गर्दै सकलदर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने विषयमा उनको जोड थियो ।