धरान । नेटवर्किङ ठगीको आरोपमा छ जना पक्राउ परेका छन् । ईटहरी–९ मा ग्लोबल ओरिन्स् नेपाल प्राइभेट लिमिटेड नामक कार्यालय संचालन गरी ठगी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका– १ की ससिता राई, सुन्दरहरैचा– ७ बस्ने संजिव माझी, ग्रामथान – ३ का विक्रम माझी, कटहरी– ६ का पंकज कुमार साह, अरुण मुडयारी र विर्तामोड– १० का पदम राई रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले हप्तामा १०–१२ हजार सम्म कमाई हुने काम पाईन्छ भनि सर्वसाधरणलाई बोलाई यसको सदस्य बने धेरै लाभ प्राप्त हुने र विभिन्न देश घुम्न पाइने भनि प्रलोभनमा पारी सदस्यता दस्तुर लिई सदस्य बनाई नेटवर्किङ (संजाल) निर्माण गरेर सर्वसाधरणबाट रकम असुली गरी ठगी गर्ने गर्थे ।
उनीहरुको अफिसबाट प्रहरीले कम्प्युटर, ल्यापटप, मोबाईल फोन, विभिन्न व्यक्तिको फोटो, नागरीकतासहितको सम्झौतापत्र, ग्लोबल ओरिन्स् लेखेको टिकट, बिल, छाप, मेडल, प्रमाणपत्र, ईजाजत पत्र, व्यवसायी दर्ता प्रमाणपत्र, दार्जिलिङ, दुवई, सिंगापुर, बैंकक टुर एचिभर लेखेको विभिन्न व्यानरहरु, ग्लोवल आइएमइ बैंकको फ्रेम गरेको चेक ३ थान लगायतका सामानहरू बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा नेटवर्किङ ठगी सम्बन्धी मुद्धामा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।