काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले मुलुकमा दसैं, तिहार, छठ जस्ता राष्ट्रिय चाडपर्वहरूको चहलपहल सुरु भएसँगै बजारमा कृत्रिमरूपमा हुने मूल्य वृद्धिलाई नियमन र नियन्त्रण गर्न आग्रह गरे । उनले भने, ‘अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तथा उपभोग्य वस्तुहरूमा जथाभावी मिसावट हुन नदिई खाद्य वस्तुहरूको गुणस्तर कायम राख्न सबैले आआफ्नो क्षेत्रमा अनुगमन र सुपरीवेक्षणलाई बढाउनुपर्ने हुन्छ ।’
प्रधानमन्त्री देउवाले अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न, अत्यावश्यक वस्तुको सहज र सर्वसुलभ उपलब्धता कायम गर्न, खाद्य वस्तुको स्वच्छता कायम गर्न र वस्तुको गुणस्तर तथा नापतौलमा कुनै मोलाहिजा हुन नदिन सरोकारवाला सबै निकायहरूलाई सक्रियता साथ बजार अनुगमन कार्यमा खटिन निर्देशन दिए ।