चितवन । संविधान दिवसमा आममाफी पाएर छुटेका एक व्यक्ति अर्को हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका टोलटोलेका ३४ वर्षीय सुरेशबहादुर कुमाल रहेका छन् ।
आफ्नै हजुरआमा र काकीको हत्याको अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय पाएका तर ७९ सालको संविधान दिवसको अवसरमा आममाफी पाएका उनलाई प्रहरीले माडीका युवकको हत्या आरोपमा पक्राउ गरेको हो ।
गत राति माडीमा मृत भेटिएका युवकको हत्या उनै कुमालले गरेको चितवन प्रहरीले दाबी गरेको छ । गत राति माडी नगरपालिका–४ शितलपुर घुँसेरीका ३४ वर्षीय जीवन नेपाली मृत फेला परेका थिए । उनको टाउकोमा गम्भीर घाउ चोट थियो । आडैमा धारिलो हतियार खुकुरी पनि भेटिएको थियो ।
जीवनको हत्या भएको आशंकामा प्रहरीले खोजतलास गर्दा शनिबार बिहान सवा ५ बजेतिर माडी–३ बाट सुरेशबहादुर कुमाललाई नियन्त्रणमा लिएको हो ।
नवलपरासी र नवलपुर गैंडाकोट नगरपालिका टोलटोले घर भएका ३४ वर्षीय सुरेश आफ्नै हजुरआमा र काकीलाई हत्या गरेको अभियोगमा पक्राउ परी १० वर्षअघि नवलपरासी जिल्ला अदालतले सर्वोश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । आममाफी पाएर सुरेश कैदमुक्त भएपछि माडी गएर २ महिनादेखि जीवन नेपालीको घरमा बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
तिनै जीवन नेपालीलाई घरमा कोही नभएको मौका पारेर सुरेशले खुकुरी प्रहर गरी हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । त्यसपछि उनी जीवनको घरदेखि ५० मिटर पर रहेको रूपा नेपालीको घरमा छिरेको प्रहरीले जनाएको छ । साथै उनले रूपाले कानमा लगाएको सुनको गहना पनि कानको लोती नै च्यातिने गरी तानेका थिए । रूपाको घाँटी थिचेर म¥यो भन्ने ठानेपछि उनी भाग्दै माडी–३ बसन्तपुर बजार नजिक भित्री सडकमा लुकेका बेला पक्राउ परेको प्रहरीले जनाएको छ ।