भैरहवा । तीन साताअघि लुम्बिनीको भित्री सडकमा हतियार देखाइ एक यात्रुबाट झण्डै ११ लाख रुपैयाँ लुट्ने दुई जना भारतीय लुटेरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश गोरखपुर जिल्ला चिलुवाताल थाना मोहरीपुर पोष्ट भगवानपुर गाउँका २८ वर्षीय सुनिल कुमार साहनी र सोही जिल्लाका सहजनवा थाना घगसरा पोष्ट रिठुअखओर गाउँका २६ वर्षीय सशिकान्त भट्ट रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूबाट दुई थान पेस्तोल र केही गोलीसमेत बरामद भएको छ । बरामद भएको हतियार र गोलीसहित लुटेरालाई मंगलबार प्रहरीले भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा सार्वजनिक गरेको हो ।
गत असोज २३ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मुग्लाहस्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेसनका एक जना कर्मचारीको साथबाट नम्बर नखुलेको भारतीय मोटरसाइकलमा आएका दुई व्यक्तिले हतियार देखाएर १० लाख ९० हजार रुपैयाँ लुटेर फरार भएका थिए । लुटेराले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्सा महिलवारस्थित भित्री सडकमा अपराह्न ४ बजेतिर लुटेका थिए ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले गत बुधबार साँझ रुपन्देहीकै कोटहीमाई गाउँपालिका–१ सिपवामा गरेको जाँचका क्रममा यूपी ५८ भी १८१४ नम्बरको मोटरसाइकलमा सवार रहेका ती दुई जना भारतीय लुटेरालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।
प्रहरीले उनीहरूबाट एक थान स्वचालित पोस्तोल, एक थना घरेलु पेस्तोल, मोटरसाइकल, ६ थाना गोली, मोबाइल र परिचयपत्र बरामद गरेको छ ।
उक्त लुटेराको समूहले पक्राउ गरिएको आसपासको क्षेत्रमा अर्को कुनै घटना घटाउँदै छ भन्ने गोप्य सूचनाको आधारमा गरिएको प्रहरीले जनाएको छ । लुटेरा दुवै जना भारतीय नागरिक रहेको र भारतीय पुलिसको खोजी सूचीमा रहेका व्यक्ति भएको प्रहरीले जानकारी दिए ।
पन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले अभियुक्तहरूले उक्त घटनामा आफ्नो संलग्नता रहेको स्वीकारेको र लुटेको रकम राखेको स्थान जानकारीमा आइसकेकाले चाँडै नै प्रहरीले प्राप्त गर्ने बताए । यस घटनामा अदालतबाट म्याद थप भइ अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।