November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

दाङका रोशनी-शरद हत्या प्रकरणमा मामा पर्ने युवक पक्राउ

२०७९ कार्तिक १६

काठमाडौं । १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्य हत्या काण्डअन्तर्गत प्रहरीले हेटौंडाका अर्का एक युवकलाई पक्राउ गरेको छ । तुलसीपुरका उनीहरूको शव फेला परेकै दिन सुरूमा पक्राउ परेका टिपर चालक पनि हेटौंडाकै हुन् ।

प्रहरीका अनुसार टिपर चालकको पछिल्लो बयानका आधारमा मकवानपुरको प्रहरीसँग समन्वय गरी मंगलबार राती हेटौंडा पुगेर आरोपितलाई पक्राउ गरी दाङ ल्याइएको हो ।

असोज २७ गते राती साढे दश बजेदेखि बेपत्ता भएका रोशनी र शरदको शव असोज ३० गते फेला परेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँको जंगलमा हत्या गरी एकै चिरोमा माटोले पुरेको अवस्थामा उनीहरुको शव फेला परेको थियो । त्यसको केही घन्टाको अन्तरालमै प्रहरीले टिपर चालकलाई पक्राउ गरेको थियो । त्यसअघि ती टिपर चालकले हजुरआमालाई फोन सम्पर्क गरी शरदको अवस्था सोधपुछ गरेको हुँदा त्यही आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

प्रहरीको दाबी अनुसार ती टिपर चालकले घटना स्वीकार गरिसकेका छन् । मंगलबार राती हेटौंडाबाट पक्राउ गरी ल्याइएका युवक नाताले उनका मामा पर्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

उनै टिपर चालकको बयानका आधारमा सल्यानका अर्का एक युवक पनि प्रहरी नियन्त्रणमै छन् । सल्यानका युवकले भने घटनामा संलग्नता अस्वीकार गर्दै आइरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले बताउँदै आएका छन् ।

पछिल्लो समय प्राविधिक रूपमा अनुसन्धानको काम भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसका लागि विगत दुई हप्ता बढी समयदेखि सिआइबीको चार सदस्यीय टोली पनि तुलसीपुरमै बस्दै आएको छ । उनीहरूको हत्या भएको तीन साता बितिसकेको छ ।