November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

न्युरोडमा भएको हत्यामा संलग्न १ जना पक्राउ, दुवैजना सडक पेटीमा सुत्ने गर्थे

२०७९ कार्तिक १६

काठमाडौं । न्युरोडस्थित जुद्ध शालिक नजिक भएको हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा १२ घर भएका ६२ को जितबहादुर लामा रहेका छन् ।

कात्तिक १५ गते मंगलबार बिहान ६ : ४५ बजे न्युरोडको जुद्द शालिक नजिक अन्दाजी ४४–४५ वर्षका एक पुरुषको शव फेला परेको थियो । पहिचान नखुलेका ती पुरुषको हत्यामा संलग्न रहेका लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान भएपनि फरार रहेका कारण खोजी कार्य जारी राखिएको थियो । आरोपीको खोजी गर्ने क्रममा बुधबार प्रहरी वृत्त जनसेवाको टोलीले आरोपित जितबहादुर लामालाई बाङ्गेमूढाबाट पक्राउ गरेको हो । पक्राउ परेका लामाले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । उनले ढोका लगाउन प्रयोग हुने काठको आग्लोले प्रहार गरी पहिचान नखुलेका पुरुषको हत्या गरेको बताएका छन् ।

Advertisement

मंगलबार बिहानै पुरुषको शव भेटिएपछि प्रहरी वृत्त जनसेवाबाट डीएसपीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका लागि केन्द्रीय प्रहरी केनाइन कार्यालय महाराजगञ्जबाट तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान गरिएको थियो ।

आरोपित र मृतक दुवैजना सडक पेटीमा सुत्ने गरेको पाइएको प्रहरीले जनाएको छ । राती सुत्ने बेलामा वादविवाद भएपछि लामाले ती आरोपितमाथि काठको आग्लो प्रहार गरी हत्या गरेका थिए ।

आरोपितलाई पनि मृतकको सम्बन्धमा जानकारी नभएको बताइएको छ । मृतकको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।