काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार आज जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाने भएकी छन् । १७ जना प्रतिनिधिमण्डलको टोलीसहित सोमबार साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन्। ‘हामी भोलि अबेर मात्र पुग्छौं, पर्सि राष्ट्रपतिले वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्नुहुनेछ,’ ढकालले भने।
सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको छ । सो अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो। जसलाई मन्त्रिपरिषदले त्यतिबेलै स्वीकृत गरेको थियो।
उक्त कार्यक्रममा पनि राष्ट्रपतिले छोटो मन्तव्य दिने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारी कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनेछिन्।