काठमाडौं । ललितपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गएराति गोदावरी नगरपालिका–८ डुकुछापस्थित सडकमा बा.४ ख ९००८ नम्बरको निशाना गाडी अनियन्त्रित भई गएराति दुर्घटना हुँदा गाडी चालक धादिङ गल्छी घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय सन्तोष तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको नेपाल मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, बारा, आदर्श कोतवाल गाउँपालिका–५ रुपौउलियास्थित सडकमा प्रदेश २–०३–०२२ प ८१४९ नम्बरको मोटरसाइकललाई बिआर ०५ एम ९७५८ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा प्रदेश २–०३–०२२ प ८१४९ नम्बरको मोटरसाइकलमा सवार रौतहट फतुवा बिजयपुर नगरपालिका–४ टेङगेहा बस्ने ४० वर्षीया जगिया देवीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने हाल फरार दुवै मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।