November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

डिएसपी ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा

काठमाडौं । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी)ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन्। प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौँबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बुझिएको छ। तर, घटना गुपचुप राखिएको छ।

सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले आइतबार साँझ निवासमा खानतलासी गर्दा लाखौं नगदसमेत फेला पारेको ईलाका प्रहरी कार्यालय स्रोतले बताएको छ। गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।

आइतबार साँझ बुटवल आएको प्रहरी टोलीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरी स्रोतले बताएको छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेका थिए। आइतबार व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।

Advertisement

यसअघि नै ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौँबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ। केसी करिब १३ महिनाअघि बुटवल आएका थिए ।