November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पोखरा विमान दुर्घटना: तीनजनाको शव आफन्तले बुझे, ४५ देखि ४९ शव काठमाडौं ल्याइदै

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये तीनजनाको शव आफन्तले जिम्मा लिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकेपछि तीनवटा शव आफन्तले जिम्मा लिएका हुन् ।

विदेशी यात्रु, चालक दलका सदस्य र पहिचान नभएका ४५ देखि ४९ वटा शव आज काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । शवलाई काठमाडौं पठाउन आवश्यक सबै तयारी पुरा भएको र अस्पतालले हस्तान्तरण गर्ने वित्तिकै काठमाडौं पठाउने प्रहरीको भनाइ छ । शव लिनका लागि नेपाली सेनाको हेलिकोप्टर सोमबार नै पोखरा गएको थियो । प्रहरीका अनुसार शवलाई सकेसम्म १०–११ बजेभित्रै काठमाडौं ल्याउने तयारी रहेको छ । पहिचान भएका पोखरा आसपासका शव भने अस्पतालबाटै प्रक्रिया पु¥याएर आफन्तलाई जिम्मा लगाइने भएको छ ।

आइतबार बिहान दुर्घटना भएको यती एयरलाइन्सको विमानमा चालक दलका चार सदस्यसहित कुल ७२ यात्रु सवार थिए । जसमध्ये हालसम्म ७० व्यक्तिको शव भेटिएको छ । दुई जनाको अवस्था भने अझै थाहा हुन सकेको छैन । उनीहरुको खोजी तथा उद्धार कार्य बिहानै बाट सुरू गरिएको प्रहरीले जनाएको छ ।

Advertisement