काठमाडौं । नेपाली काँग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई मतदान गर्न ह्वीप जारी गरेको छ । मुख्यसचेतक रमेश लेखकले शुक्रबार सूचना निकालेर उपसभामुखमा पार्टीकी उम्मेदवार यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।
उपसभामुख पदका लागि काँग्रेसबाट सांसद यादवले उम्मेदवारी दिएकी छन् । शनिबार हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन काँग्रेसले सांसदहरूलाई आग्रह गरेको छ । ‘उपसभामुखको निर्वाचन सम्बन्धी प्रस्तावहरु प्रस्तुत हुने भएकोले उक्त बैठकमा प्रतिनिधि सभामा नेपाली काँग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
काँग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको साथ लिएर सभामुख तथा उपसभामुखमा आफ्ना पार्टीका सांसदलाई उम्मेदवार बनाएको हो । सभामुखमा काँग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपाने पराजित भएकी थिइन् भने नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका थिए ।