काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले संसद्मा रहेका दलहरूको लागि राष्ट्रपतिको निर्वाचन मुख्य परीक्षाको घडी हुने बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संविधान बचाउने र मास्नेहरूको ध्रुवीकरण हुनसक्ने बताएका हुन् ।
प्रवक्ता महतले भने, ‘अब राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीजी संविधानको पक्षमा उभिने या विपक्षमा भन्ने कुरा महत्वपूर्ण हुन्छ । अन्य दलको हकमा पनि सत्ता स्वार्थ मात्रै हेर्ने कि संविधान बचाउने भन्ने कुरा हुन्छ । त्यसैले अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नै मुख्य परीक्षाको घडी हो । त्यो परीक्षामा को उत्तीर्ण हुने भन्ने पनि उहाँहरूकै हातमा छ ।’
यसअघि उनले आफूहरुले गठबन्धनलाई विघटित गर्न नखोजेको, संविधानको पक्षमा उभिने कि नउभिने भन्ने कुरा रहेको बताए । संविधानमाथिको खतरा अझैँ रहेको उनको टिप्पणी थियो । उनले भने, ‘हिजो हामी संविधानमाथि खतरा भयो भनेर गठबन्धनमा बाँधिएका थियौँ । अहिले पनि अवस्था उही छ । संविधानमाथिको खतरा टरेको छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विषयलाई अहिले पनि प्रमुख विषय बनाउनुभएको छ । हामीले त्यही विषय प्रधानमन्त्री र अन्य संसद्मा रहेका दलहरूलाई ध्यानाकर्षण गराएका छौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहालको लागि पनि अब संविधानको पक्षमा उभिने वा विपक्षमा भन्ने मुख्य परीक्षा भएको महतले बताए ।