काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक पार्टीहरुले प्रेस स्वतन्त्रतालाई ख्याल गर्नुपर्ने बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले प्रेसभित्र पनि सुधार गर्नुपर्ने कुराहरु थुप्रै रहेको तर प्रेस “ब्ल्यांकेट डिस–क्रेडिट” तिर गए त्यसले गणतन्त्रमा समस्या ल्याउने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनबाट बाहिरिएपछि गरेको पत्रकार सम्मेलनलाई लक्षित गर्दै थापाले भने, ‘हामी प्रेसलाई चौथो अङ्ग ठान्दैनौं, प्रेस सिस्टमको अभिन्न अङ्ग हो । सिस्टमको अङ्ग भएकोले महत्वपुर्ण छ र समस्या पनि छ । ७ दलको आन्दोलनको समयमा हाम्रो पुस्ताले प्रेसलाई ८ दलको रुपमा लिएका थियौं । तर नेपालको प्रेसले पनि आफ्नो बारे प्रश्न गरोस् । सुधार गर्नुपर्ने कुराहरु सुधार गरोस् । तर, प्रेसलाई “ब्ल्यांकेट डिस–क्रेडिट”गर्यौं भने चाहिँ त्यसले विस्तार–विस्तारै गणतन्त्रमा समस्या ल्याउँछ ।
राजनीतिक दल र मिडियाबीच आपसमा डर सिर्जना भए लोकतन्त्र स्वतन्त्र नहुने टिप्पणी गरे । ‘प्रेस स्तन्त्रताको कुरालाई एकदम धेरै ख्याल गर्नुपर्छ । प्रेस स्वतन्त्रता हाम्रो लागि अत्यन्तै महत्वपूर्ण कुरा हो । हामीलाई प्रेसको डर र प्रेसलाई हाम्रो डर हुनुभएन । आपसमा डर भए लोकतन्त्र स्वस्थ हुँदैन ।’, थापाले भने ।
यसअघि थापाले सरकारलाई विश्वासको मत किन दिएको भनेर आफूहरुलाई प्रश्न गर्न मिल्ने बताएका छन् । तर एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि यस्तै प्रश्न उठ्ने उनले बताए । ‘हम करेतो रासलिला, तुम करे तो क्यारेक्टर ढिला !’ पछिल्लो समय यस्तो प्रश्न गर्दा पन्छाउने वा व्यक्तिगत रुपमा लिन थालिएको थापाले बताए।
महामन्त्री थापाले अरु भन्दा भिन्न छौं भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाव दिएको बताए । शीर्ष नेताहरुविरुद्ध ‘नो नट अगेन’ भनेर मत मागेको भन्दै यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरे । ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने ? सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने ?’, थापाले प्रश्न गरे ।
सरकार छाड्दै गर्दा आफूहरुसँग भएको सहमति पालाना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन ? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि सरकार छाड्दै गर्दा समर्थन लिनुपर्ने होइन ? हामीलाई किन समर्थन गरेको भने जस्तै समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्न नमिल्ने हो ?’