November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

राष्ट्रपतिको सवारी नाममा नागरिकलाई दुःख दिने शैली बदलौं: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिसवारीको क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताएका छन् । शुक्रबार घटनाबारे सामाजिक संजालमा आफ्ना विचार राख्दै थापाले दोषीको कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले राष्ट्रपति एउटा संस्था भएको भन्दै राष्ट्रपतिको सवारी नाममा नागरिकलाई दुःख दिने शैली बदल्न आग्रह गरेका छन्।राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो। उनले लेखेका छन्, ‘यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।’

महामन्त्री थापाले विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको भन्दै यस्तो शैली अब दोहोरिन नहुने बताएका छन् ।

Advertisement

उनले यस्ता घटना नदोहोरिन दुइटा उपाय सुझाएका छन्। विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदल्नुपर्ने र राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरि कार्यान्वयन गर्नुपर्ने उनको सुझाव रहेको छ ।

अब निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गर्न थापाले आग्रह गरेका छन् । ‘नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु।’,थापाले लेखेका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी भएको समयमा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंहलाई प्रहरीले लाठी चार्ज गरेको थियो । लाठी चार्ज गर्ने वरिष्ठ हवल्दार शम्भुजंग गुरूङ निलम्बनमा परिसकेको प्रहरीले जनाएको।