काठमाडौं। पोखराका व्यवसायी एवं सहकारीकर्मी बलराम गौतम वीरगन्जमा मृत भेटिएका छन् । गत माघ २ गतेदेखि सम्पर्कविहीन भएका गौतम शुक्रबार वीरगन्जको बसपार्कको पार्कमा मृत भेटिएका हुन् ।
परिवार स्रोतका अनुसार गौतम गत माघ २ गतेदेखि सम्पर्कबिहिन भएका थिए । हराएकै दिनदेखि नै उनको खोजी भइरहेको थियो । खोजी गर्ने क्रममा उनी भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोबाइलमा सन्देश लेखेर आफू भारतमा रहेको जानकारी पठाएका थिए ।
गौतमलाई हृदयघात भएको आशंका गरिएको छ । प्रहरीका अनुसार सिसिटिभी फुटेजमा विरगञ्ज बसपार्कको पार्कमा ५ः३० बजे गौतम आएको देखिएको छ । त्यसपछि शौचालय गएको र पार्कमा बस्ने कुर्सीमा चिया लिएर आरामले बसेर चिया खाएको अवस्थामा टाउको झुकेको देखिएको छ ।
उनलाई प्रहरीले हिजो विहान ८ः४५ बजे पार्कबाट अस्पताल लगेको थियो । मृतक गौतमको शव पोष्टमार्टम गरी शनिबार राति पोखरा ल्याइएको छ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत रहेका पोखरा–१९, साबिक पुरुन्चौर–५, उपल्लो चुरुङ्गा घर रहेका गौतम हाल पोखरा –४ गैह्रापाटन बस्ने गर्थे । उनको श्रीमती र तीन छोरी छन् ।