November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार

काठमाडौं । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकार तयार देखिएको छ । चिकित्सकसँगको वार्तामा सरकारी टोली कार्यविधि परिमार्जनका लागि तयार भएको हो ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा खाली गराइएको सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेपछि चिकित्सकहरू आन्दोलित बनेका थिए । नेपाल चिकित्सक संघले शनिबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको थियो । यसैक्रममा आज बिहानभर ओपीडी सेवा बन्द गरिएको थियो । लगत्तै आज बिहान प्रधानमन्त्री कार्यालयमा वार्ता भएको थियो ।

वार्ता टोलीमा सरकारको तर्फबाट टोलीको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले गरेका थिए । यसैगरी चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी थियो ।

Advertisement

वार्तामा ६ बुँदे सहमति भएको छ । चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकारलाई सुझाव दिने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमतिपत्रमा उल्लेख छ ।