काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा आफूले सांसदको लोगो छोप्नुपरेको बताए । आइतबार प्रतिनिधि सभा बैठकमा समय लिई बोलेका सांसद पन्तले मानिसहरूले गाली गर्न थालेपछि लोगो छोपेको बताएका हुन्।
उनले भने, ‘एम्बुलेन्समा कस्ता बिरामी थिए मलाई थाहा भएन। अलि गम्भीर बिरामी थिए भने त ज्यान नै जान सक्छ । थुप्रै मानिसले गाली गरिरहेका छन्। मैले लोगो छोप्नुपर्यो, म चढेको बाइकलाई अगाडि बढाऊ भनेर मुखमा मास्क लगाउनुपर्यो किनभने त्यहाँ सांसदलाई पनि गाली गर्न थाले।’
पन्तले भीभीआइपीहरू औपचारिक कार्यक्रममा जाँदा जनतालाई अप्ठ्यारो नपर्ने गरी सुरक्षा व्यवस्थापन गर्न माग गरेका छन्। उनले जनताका दु:ख र गुनासालाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने बताए।
पन्तले यस्तो प्रणालीको समयानुकूल परिमार्जनको आवश्यकता रहेको बताए। उनले भने, ‘यो गर्ने भनेको सरकारले हो। सरकारले यो नगर्ने अनि राष्ट्रपतिले किन गाली खाने? राष्ट्रपतिजस्तो संस्था किन विवादमा पर्ने? त्यसैले यस विषयमा म अविलम्ब प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछु।’
उनले औपचारिक कार्यक्रममा जाँदा सवारीलाई सहज, सजिलो र जनतालाई अप्ठ्यारो नपर्ने गरी सरकारले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
गत माघ २७ गते राष्ट्रपति संघीय संसद बैठकमा सम्बोधन गर्न आउजाउ गर्दा बाटो खाली गराइएको थियो। सवारीका बेला आवतजावत गरेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएका थिए।