काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिले संकटमा पनि नेपालको अर्थतन्त्र जोगिएको बताएका छन् । मंगलबार गिरिजाप्रसादको स्मृति दिवसमा प्रेस युनियनको विचार गोष्ठीमा बोल्दै थापाले २०४८ देखि २०५१ सालसम्म गिरिजाप्रसादको नेतृत्वमा रहेको सरकारले लिएको अर्थ नीतिले आजको अर्थतन्त्र टिकेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै थापाले नागरिकमाथि सरकारले विश्वास गरे नागरिकले सरकार पालिदिने बताए । उनले भने, ‘०४८ सालमा नागरिकको स्वतन्त्रतामा विश्वास नगरेको भए ५१ सालमा मनमोहन अधिकारीले सय रुपियाँ वृद्ध भत्ता बाड्छु भन्दा सरकारको कुथुर्केमा ३६ अब राजस्व थियो । गिरिजाप्रसाद सरकारको नेतृत्वमा बस्दा १२ अर्ब मात्र थियो । नागरिकलाई विश्वास गर्ने नीति लिएका कारण कुथुर्केमा पैसा बढ्यो । अझ फेरि प्रतिस्पर्धा गर्ने वातावरण बनाइँदियौं भने केही समयमै हामी अर्थतन्त्रलाई ट्रायमा राख्न सक्छौं ।’
कार्यक्रममा बोल्ने क्रममा थापाले मुलुकको वर्तमान अवस्था देखेर युवा पुस्ता आत्तिएको पनि बताए । ‘२०६२ र ०६३ को जनआन्दोलनअघि नागरिकमा आशा थियो । शान्ति सम्झौता हुन्छ र संविधान बन्छ । अनि उज्यालो आउँछ भन्थ्यौं । नागरिकलाई उत्साहित बनाएका थियौं । एउटा भरोसा थियो । आज हामीले १० जना मान्छेलाई सोध्यो भने आजको अवस्था खतम छ भन्छ भन्छ । भोलिको बारेमा पनि १० का १० जनाले आशावादी छैन भन्छ । प्रत्येक मान्छे आत्तिएका छन् ।’, थापाले भने ।