November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

मिटरब्याज पीडितको समर्थनमा ऐक्यबद्धता जनाउँदै खनालले भने, ‘हामी तपाईँहरूको पक्षमा छौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेकपा एकीकृत समाजवादी मिटरब्याज पीडितको पक्षमा रहेको बताएका छन् । 

मंगलबार नेता खनालले मिटरब्याज पीडितको कार्यक्रम स्थल माइतीघरमा पुगेर पीडितहरूको माग सरकारले सम्बोधन गर्नुपर्ने भन्दै भने, ‘तपाईंहरुको मागहरू जायज छन् । तपाईँहरूमाथि अन्याय भएको छ । त्यो सच्चिनु पर्छ । तपाईँहरूले चलाएको आन्दोलनको हामी समर्थन गर्छौ ।’

देशभर मिटर ब्याजीहरू फैलिएकाले सरकारले त्यसलाई रोक्नुपर्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मिटर ब्याजीको समस्या समाधान गर्न ध्यानाकर्षण गराउँदै नेता खनालले भने , ‘हामी प्रधानमन्त्रीलाई भेटेर पनि यही कुरा भन्छौँ । तपाईँहरूको समस्या समाधान गर्नैपर्छ। यो परिवर्तन जनताको लागि हो शोषकको लागि होइन । तपाईँहरूको हितमा सरकारले नीति र कार्यक्रम बनाउनुपर्छ। आवश्यक पर्छ भने नयाँ ऐन पनि बनाउनुपर्छ।’

Advertisement

नेकपा एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालयको ५५ औं बैठकले मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने साथै मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न माग गर्ने निर्णय गरेको थियो ।