काठमाडौं । स्वर्णिम वाग्लेले आफू फेरि नेपाली काँग्रेसमा नफर्किने बताएका छन्। शनिबार बसुन्धारास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ क्षेत्र नम्बर १मा उम्मेदवार बन्न लागेका वाग्लेले आफू काँग्रेसमा नफर्किने बताएका हुन् ।
‘म रास्वपाको साधारण सदस्यको रूपमा यहाँ उपस्थित छु। पछाडि फर्कने मेरो बानी छैन, अगाडि नै जाने मक्सद लिएर म आएको हुँ,’ उनले भने।
यस्तै पार्टी छाडेको दिन केही महामन्त्री विश्वप्रकाश शर्मा लगायतले पठाएको निजि सन्देशबारे पनि उनले प्रष्ट्याएका छन् । लोकतान्त्रिक पार्टीहरूबीच पछि कुनै समय गठबन्धन, सहकार्य गर्न सकिने तर काँग्रेसमा फर्किन्छु भन्ने उल्लेख नगरेको पनि बताए। उनले भने, ‘सार्थक अथवा निर्णायक तपाईंहरू जस्ता सुधारक भनेर चिनिएका पात्रहरूले नेपाली काँग्रेस पार्टीमा आउनुभयो भने त्यतिबेला रास्वपा पनि लोकतान्त्रिक पार्टी हो, विश्वसनीय वैकल्पिक लोतान्त्रिक पार्टी हो । उहाँहरू पनि पूरानो लोकतान्त्रिक पार्टी हो। सहकार्य गर्न सकिने, हामी गठबन्धनको संस्कारमा छौं। मिलेर जान सकिन्छ भन्ने हिसाबले भनेको हुँ। जसरी कम्युनिष्ट पार्टीहरूले पनि गठबन्धन गरे। तर म फेरि नेपाली कांग्रेस फर्किने कुरा उल्लेख गरेको हैन।’