November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

रास्वपामा विन्दवासिनी कंशाकारको सिफारिसप्रति मेघ आलेको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्दै उनको ठाउँमा विन्दवासिनी कंशाकारलाई पठाउने निर्णय गरेसँगै पार्टीका अर्का नेता मेघ आलेले नेतृत्वविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने भएका छन् ।

आफूलाई सांसद नबनाएको भन्दै पार्टी नेतृत्वविरुद्ध निर्वाचन आयोग उजुरी दिने भएका हुन् । आलेले समानुपातिक प्रणालीको विधि पार्टीले उलंघन गरेको आरोप लगाएका छन् । जनजातितर्फको दुई नम्बरमा रहेकोले आफूलाई सांसद बनाउनुपर्ने उनको जिकिर छ ।

उनले सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकालले लोकतान्त्रिक अभ्यास मिचेर आफूलाई अन्यायमा पारेको बताएका छन् । ’विधिको पालना भएन । यसबारे निर्वाचन आयोगमा उजुरी गर्दैछु । अहिले पार्टीका नेताहरूसँग समन्वय गर्दैछु’, उनले सञ्चारकर्मीसँग बताएका हुन् ।

Advertisement

यता राजनीतिक दलसम्बन्धी ऐनमा दुई अवस्थामा मात्र सांसद पद जाने व्यवस्था छ । पार्टीको ह्वीप उल्लंघन गरेका र दल त्याग गरेका सांसदको मात्र सम्बन्धित पार्टीको केन्द्रीय समितिको निर्णय र सिफारिसबाट पद रिक्त हुने व्यवस्था छ । अनुशासनमा कारबाही गर्ने रास्वपाको निर्णयलाई सांसद श्रेष्ठले कानुनी रूपमा अदालतमा चुनौती दिन सक्ने सम्भावना पनि उत्तिकै छ ।