November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

विभिन्न जिल्लामा आगलागीबाट धनमाल जलेर नष्ट

काठमाडौं । सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पताल सिरहामा रहेको जेनेरेटर मेसिनमा बुधबार दिउँसो आगलागी हुँदा जेनेरेटर मेसिन पूर्णरूपमा जलेर करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

थाहा नगरपालिका–७ थाक्ले बस्ने ५५ वर्षीय कृष्ण बहादुर खत्रीको घरमा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा उक्त आगो फैलिएर कृष्ण बहादुरको भाइ राज कुमार खत्रीको घरमासमेत आगलागी हुँदा दुवै जनाको घर, नगद तथा गहना समेत गरी करिब ३५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उदयपुर, ताप्ली गाउँपालिका–५ रुपाटार शाहिडाँडा बस्ने शुभशेर राईको घरमा बुधबार राति आगलगी हुँदा उक्त आगो फैलिएर शुभशेर राईको घर, दुई वटा गोठ र सोही ठाउँ बस्ने सचेन्द्र भन्ने कमलशेर राईको घर र ३ वटा गोठसमेत जलेर करिब २८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

Advertisement

धनगढी उपमहानगरपालिका–११ बेला बस्ने डम्बर बहादुर बोगटीको विशाल पोल्टी फर्ममा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सभापोखरी गाउँपालिका–४ बासेनी बस्ने सन्त बहादुर तामाङको घरमा बुधबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ८ लाख ३९ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्रिवेणी गाउँपालिका–१ खत्रे बस्ने २६ वर्षीय राम बहादुर बुढाको घरमा बुधबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने ४७ वर्षीय मानधोज बुढाको गोठ र ३१ वर्षीय ज्योतिस बुढाको कच्ची घरमासमेत आगलागी हुँदा तीनै जनाको गरी करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

चन्द्रपुर नगरपालिका–१ पौराही गाउँस्थित रामकृष्ण मैनालीको २ वटा कुखुरा फर्ममा बुधबार राति आगलागी हुँदा उक्त फर्म तथा फर्ममा रहेको करिब ५ सयवटा कुखुरासमेत जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दिप्रुङ गाउँपालिका–४ पिचाकु बस्ने आशिकराम भुजेलको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रंगेली नगरपालिका–१ लिच्चीडाँगी टोल बस्ने जमेर लाल चौधरीको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर तथा गाई गुवाली पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनामल नष्ट भएको छ ।
ललितपुरको महांकाल गाउँपालिका–६ ठुलादुरलुङस्थित सोही ठाउँ बस्ने सुकमान गोले बस्दै आएका घर, गोठ र छिमेकी रामकृष्ण आचार्यको गोठमा समेत बुधबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।