November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

तनहुँबाट गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने जिम्मा मेरो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनबाट सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् ।
बुधबार तनहुँको डुम्रेमा भएको सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तनहुँ १ बाट भट्टराईलाई जिताएर पठाउन आग्रह गरेका हुन् ।

नेकपा माओवादी पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो । अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो। शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले रामचन्द्र पौडेल प्रधानमन्त्री हुन्छ भनेर पनि आफूले भनेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नुहुन्छ भनेर मैले यहाँ भनेको थिएँ। मेरो भनाइ खेर गएन, उहाँ महामहिम राष्ट्रपतिमा निर्वाचित हुनुभयो।’

Advertisement

उनले सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई अत्याधिक मतले जिताएर पठाउनुपर्नेसमेत बताएका थिए। तनहुँको विकास निर्माणको काममा सरकारले ध्यान दिने पनि प्रधानमन्त्रीको भनाइ थियो।

यसअघि तनहुँ १ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो।