काठमाडौं । तनहुँ १ को प्रतिनिधिसभा सदस्य अन्तर्गतको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । फराकिलो मतान्तरले निर्वाचित वाग्लेलाई सोही काँग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले माला लगाइदिएर बधाई दिएका छन्।
मंगलबार बिहान दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ। उक्त कार्यक्रममा पुगेका काँग्रेसका उम्मेदवार भट्टराईले विजयी भएका स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई तथा शुभकामना दिएका हुन् ।
रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा काँग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए। भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराउदै वाग्ने निर्वाचित भएका हुन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।
१ लाख २३ हजार ३ सय ५ मतदाता रहेको तनुहँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी मत वाग्लेलाई प्राप्त भएको हो । दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ ।