काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।
सार्वजनिक मतपरिणाम अनुसार ३ हजार १६६ मतसहित रवि अग्रस्थानमा छन् । त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले १७४६ मत पाउदा काँग्रेसका जीतनारायण श्रेष्ठले १२४१ मत प्राप्त गरेका छन् ।
तनहुँ–१ मा पनि मतगणना जारी छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । अहिलेसम्मको मतपरिणामानुसार वाग्ले १८४६१ मतसहित दोब्बर मतले अगाडि रहेका छन् । काँग्रेस उम्मेदवार गोविन्द भट्टराईले १०८१७ मतसहित दोस्रो स्थानमा छन् भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ६०६७ मत प्राप्त गरेका छन् ।
यस्तै, बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले जनमतका शिवचन्द्र कुशवाहालाई उछिनेका छन् । करैयामाई नगरपालिका वडा १‚ २ र ३ को जम्मा ३ हजार ८१० मत गणना गर्दा कुशवाहालाई यादवले ८९ मतले अग्रता लिएका हुन् ।
यादवले १३९० मत प्राप्त गरेका छन् भने कुशवाहाले १३०१ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २५९ मत र आम जनता पार्टीले १२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।