काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । काँग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराउदै वाग्ने निर्वाचित भएका हुन् ।
पतपरिणाम अनुसार वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।
१ लाख २३ हजार ३ सय ५ मतदाता रहेको तनुहँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी मत वाग्लेलाई प्राप्त भएको हो । दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ ।
गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ–१ मा काँग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो । मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए । त्यति बेला एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए ।