November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सांसद सिंहको प्रश्न, ‘ऋण लिएर निजगढ एयरपोर्ट बनाएर के भैंसी चराउने ?’

काठमाडौं । सांसद अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा आफ्नो आपत्ति रहेको बताए । शुक्रबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नरहेको बताएका हुन् ।

बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको उनको तर्क थियो । ‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ। किनकी निजगढ एयरपोर्ट यता दुईटा इन्टरनेसनल एयरपोर्ट काम गर्न सकिरहेका छैन। अर्को निजगढ एयरपोर्टको आवश्यकता के ? खाली फाष्ट ट्र्याक जोड्नका लागि एयरपोर्ट चाहिन्छ, उनको प्रश्न थियो ।

ऋण लिएर एयरपोर्ट बनाउन आवश्यक नरहेको उनले बताए । ‘विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने। तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने। के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने ? मधेसमा भैंसी धेरै पाउँछ।’, सांसद सिंहले भने ।

Advertisement

सांसद सिंहले सरकरलाई हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सचेतसमेत गराए।