काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । मंगलबार पक्राउ परेकामध्ये ४ जनालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सरकारी लिखत किर्ते गरेर ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, भूपेन्द्रमणि केसी र गोपाल कार्की रहेक थिए।
पक्राउ परेकामध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर मंगलबार नै रिहा गरेको थियो ।
यश प्रकरणमा प्रहरीले कूल ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको छ ।
ब्युरोका अनुसार जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना रहेका छन् । जग्गा फिर्ता गर्नेमा विष्णु पौडेलका छोरा नविन पौद्देल, न्यायाधिश कुमार रेग्मी लगायत छन् ।