काठमाडौं । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामत भएको छ । भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्याइएको करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।
मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक शु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको अधिकारीहरूको भनाइ छ । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।
सुनसँगै केही व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको र धेरै तथ्य खुल्न बाँकी नै भएकाले विस्तृतमा अहिल्यै भन्न सक्ने अवस्था नरहेको बताइएको छ ।
भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिदिएको थियो । आठवटा कार्टुन बक्सामा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख छ । यस घटनामा भन्सारका अधिकारीहरूमाथि पनि प्रश्न उठेको छ ।