November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

रिगलको आममाफीविरूद्ध अनसन बस्दै आएकी भारती बेहोस भएपछि अस्पताल भर्ना

२०८० कार्तिक १३

काठमाडौं । योगराज ढकाल ‘रिगल’को आममाफीविरूद्ध अनसन बस्दै आएकी भारती मानन्धरलाई वीर अस्पताल पुर्‍याइएको छ। सोमबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनबीच भारती मानन्धर मञ्चमै बेहोस भएपछि उनलाई अस्पताल लगिएको हो।

पत्रकार सम्मेलनमा बेहोस भएकी उनको अहिले उपचार जारी रहेको बताइएको छ।

भारतीकी श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा दोषी ठहर भई जेल सजाय काटिरहेका रिगलले असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आममाफी पाएका थिए।

Advertisement

२०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतनमाथि खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए। मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि  भदौमा अदालत उपस्थित आत्मसमर्पण गरेका थिए। त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पूर्पक्षका लागि जेल पठाइएका थिए।

जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो। मानन्धरको हत्यामा संलग्न रहेको ठहर गर्दै अदालतले अन्य १२ जनालाई पनि कसुरअनुसार ३ वर्षदेखि १० वर्षसम्मको सजाय तोकेको थियो।

झन्डै ५० प्रतिशत सजाय भुक्तान गरेपछि आममाफी पाएर रिगल रिहा भएका हुन्। रिहाई भएपछि उनलाई मृतकका श्रीमती मानन्धरले अनसन बस्न सुरु गरेकी हुन् ।

रिगलको आममाफीविरूद्ध सर्वोच्चमा मुद्दा समेत परेको छ। असोज २५ गते पेशी चढेपनि हेर्न नमिल्नेमा परेको थियो। सो मुद्दाको सुनुवाइ भोलि (कात्तिक १४ गते)का लागि तोकिएको छ।