काठमाडौं। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपालाई कमजोर बनाउन दलाल पुँजीवादीले अदालतको प्रयोग गरेकाले त्यसको सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ । मंगलबारदेखि सुरु भएको पार्टीको बैठकले विभिन्न धम्की आइरहेको भन्दै त्यसकाविरूद्ध सशक्त प्रतिरोध गर्ने निर्णय गरेको हो ।
दलाल पुँजीवादी शक्तिहरूले संसद्मा आउने विश्वास गरेको तर उनीहरूको आग्रह हामीले नमाने पछि पार्टीलाई विभिन्न धम्की आइरहेको भन्दै पार्टीले त्यसकाविरूद्ध सशक्त प्रतिरोध गर्ने निर्णय गरिएको एक पदाधिकारीले जानकारी दिए ।
कपिलवस्तुस्थित शिवगढीमा सोमबार दिउँसो २ बजे सुरु भएको बैठक २ घण्टा बसेर स्थगित भएको थियो । मंगलबार सुरु भएको बैठकमा महासचिव विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ’ शीर्षकको राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि सुझावका लागि विप्लवले पोलिटब्युरो बैठक बोलाएका थिए । बिहानसम्म पोलिटब्युरो सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राख्ने क्रम सकिएको छ ।
विप्लवको प्रतिवेदनमाथि मंगरबार केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ । बैठक भोलिसम्म चल्न सक्ने जनाइएको छ ।
कात्तिक १८ गते जिल्ला अदालत काठमाडौँले विप्लवसहितका शीर्ष नेताहरूविरूद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपश्चात् आक्रोशित नेकपाका कार्यकर्ताहरू न्यायपालिका र न्यायाधीशविरुद्ध यसअघि आन्दोलन गरेको छ ।