November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

७५ वर्षीय वृद्धाको हत्या आरोपमा एक युवक पक्राउ

त्रिशूली । नुवाकोटमा एक वृद्धको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । शिवपुरी गाउँपालिका–६ खत्रीटोल निवासी ७५ वर्षीय नेत्रकुमारी खत्रीको हत्या अरोपमा एक स्थानीयलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका सुकु तामाङ रहेका छन् ।प्रहरीका अनुसार तामाङले खत्रीको गत सोमबार राति हत्या गरेर फरार रहेका रहेका थिए । उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

हत्यामा संलग्न २२ वर्षीय तामाङलाई तालिमप्राप्त कुकुरको सहायताले लुकिएरहेको अवस्थामा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अनुसन्धानका लागि बिहीबार नै जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको पनि प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार तामाङ लामो समयदेखि लागुऔषध दुव्र्यसनीमा संलग्न थिए । तामाङलेगाँजा खरिदका लागि पैसा अभाव भएपछि वृद्धासँग भएको नगद र गरगहना चोर्ने क्रममा हत्या गरेको स्वीकार गरेको पनि जनाइएको छ ।

वृद्धाको हत्यापश्चात् लुटिएको ८३ हजार र उनले लगाएको सुनको एकजोडी बेरुवा र एकथान तिलहरी अभियुक्तले दिएको सूचनाका अधारमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ च्यासिङटोलको जङ्गलबाट प्रहरीले बरामद गरेको थियो ।

गाँजा खरिदका लागि पैसा नभएपछि तामाङले वृद्धासँग रहेको नगद र लगाएको गहना लुट्ने योजना बनाएको पाइएको छ प्रहरीले जनाएको छ । नगद र गहना लुट्ने क्रममा (वृद्धाले) प्रतिवाद गरेपछि हत्या गरेको अभियुक्तले स्वीकार गरेको बताइएको छ ।

एकल महिला र निःसन्तान खत्रीको सोमबार राति १० बजे हत्या भएपनि छिमेकीले मङ्गलबार मात्र थाहा पाएका थिए । सो घटनापछि तालिमप्राप्त कुकुरको सहयोगले चार दिनपछि अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।