November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बम्जनको घरबाट साढे ३ करोड बरामद, ल्यान्डक्रुजर किन्न पैसा बुझाइसकेका थिए

काठमाडौं । तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गर्दै बुढानीलकण्ठस्थित घरबाट बरामद भएको नगद, मोबाइल र ल्यापटप लगाएका महत्त्वपूर्ण कागजात सार्वजनिक गरेको हो ।

बम्जनको घरबाट जम्मा ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको सीआईबीले जनाएको छ । जसमध्ये २ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँबराबरका १७ देशका विदेशमी मुद्रा रहेको छ ।

प्रहरीका अनुसार आफूलाई तपस्वी बताउँदै आएका बम्जन विलासी जीवन बिताउँदै आएका थिए । प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएका उनले ल्यान्डक्रुजर-जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेका थिए । उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोडमा बुकिङ गरिएको थियो । उक्त गाडी ललितपुर महानगरपालिका वडा नं. २२ बुङमतीका ४५ वर्षीय पनित महर्जनको नाममा किन्न खोजिएको थियो । महर्जन बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष हुन् । त्यस्तै बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ ।

Advertisement

रामबहादुर बम्जनलाई प्रहरीले लामो समयदेखि निगरानीमा राखेको थियो । मंगलबार पनि सीआईबीले पक्राउ गर्ने बेलामा उनी झ्यालबाट हाम फालेर भाग्न खोजेका थिए । बम्जन आफू बस्दै आएको घरको चौथो तलाबाटै भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा पक्राउ गरेको सीआईबीको दाबी छ ।

उनलाईइ हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदातले २०७६ साल माघ २३ गते नै पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा रहेका बम्जनले आफू तपस्वी भएको बताउँदै आएका थिए । तर उनकै आश्रमबाट अनुयायीहरू बेपत्ता पारेका विभिन्न उजुरीसमेत प्रहरीमा परेका छन् ।