November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र राष्ट्र सवल हुन्छ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आपसमा निषेध, घृणा, द्धन्द्ध र अविश्वास त्यागेर, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र राष्ट्र सवल हुने बताएका छन् ।

पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको बहुधार्मिक आध्यात्मिक मोहोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पौडेलले अनेकता भित्रको एकता नै नेपालीहरुको मूख्य पहिचान भएको भन्दै यस्ता कार्यले धार्मिक एकता र सहिष्णुताकाे सन्देश दिनुपर्ने बताए ।

आपसमा निषेध, घृणा, द्धन्द्ध र अविश्वास त्यागेर, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र राष्ट्र सवल हुने पौडेलको तर्क थियो । पौडेलले पाँचथरलाई किराँतहरूका महगुगरु फाल्गुनन्दको तपोभूमी एवं वैदिक दर्शनका ज्ञाता स्वामी प्रपन्नाचार्यको भूमीको रुपमा स्मरण गरे ।

Advertisement

सम्बोधको क्रममा उनले लोकतन्त्रका लागि जीवन समर्पण गरेका भूविक्रम नेम्बाङ, कृष्णविक्रम नेम्बाङ, पूर्णकुमार शेर्मा, देवान दोर्जे थिङ, प्रेमराज आङ्देम्बे, मचिन्द्र केरुङ, ऐनसिंह राई, कालिदाश श्रेष्ठ, तेजप्रकाश रिजाल लागायतलाई स्मरण गरे । पौडेलले क्याम्पसको स्थापनामा योगदान गर्ने पूर्वमन्त्री पद्मसुन्दर लावतीलाई समेत स्मरण गरेका थिए ।

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो । यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिन्छ,’ उनले भने ‘हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्तछ छौं । ’

‘वेद हामी सबैको हो । मुन्धुम हामी सबैको हो । त्रिपिटक हामी सबैको हो,’ पौडेलले भने ‘हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौं । ति सबैको एकता, समभाव र सहअस्तित्वनै हाम्रो मुख्य परिचय हो । हामी सबै छौ, त्यसैले सप्तरंगी छौं, बगैँचाजस्तो ।’

क्याम्पस सञ्चालक समतिका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाको अध्यक्षतामा महोत्सवको उद्घाटन भएको हो । सात दिनसम्म सञ्चालन हुने महोत्सवमा हिन्दु, किँरात र बौद्ध धर्मका गुरुहरुले एउटै मञ्चबाट प्रबचन दिंदै छन् ।

क्याम्पसको दीगो शैक्षिक उन्नतीका लागि अक्षयकोष स्थापना गर्ने उद्धेस्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवबाट पाँच करोड आर्थिक संकलन गर्ने क्यापसले लक्ष्य राखेको छ ।