काठमाडौं । नक्कली सुन धितो राखेर बैंकबाट चार करोड ऋण लिई नतिरी फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका-८ घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साह रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको बौद्धस्थित हायात होटलबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार साहले नक्कली सुन धितो राखेर नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार रूपैयाँ ऋण लिएका थिए। ऋण लिएर फरार भएपछि उच्च अदालत विराटनगरले उनीविरुद्ध ९८ लाख ८५ हजार ५६४ रूपैयाँ बिगो र तीन वर्ष कैद फैसला सुनाएको थियो।
उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।साहले अमेरिका लैजान्छु भनेर युवायुवतीलाई ठगी गर्ने गरेको पनि पाइएको छ।
उनले विभिन्न कम्पनीका १५ थान सिम प्रयोग गर्ने गरेको प्रहरील जनाएको छ ।