November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

हजुरआमाको हत्या गरेको आरोपमा २ जना पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिका-७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन २६ गतेदेखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो । गाडेको अवस्थामा शव फेला परेसँगै घटनाबारे सुक्ष्म अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जको प्रहरी टोलीले घटनामा संलग्न रहेका २ जनालाई फागुन ३० गते नै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृतककै नाती १८ बर्षीय धिरज बिश्वकर्मा र स्थानीय १८ बर्षीय राजु मल्लिक रहेका छन् ।

Advertisement

गाँजा खाई लट्ठ भएका बिकले फागुन २६ गते राती २ बजेको समयमा हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडी प्रहार गर्दा बृद्धाको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएकोछ ।

हजुरआमाको मृत्यु भएपश्चात आफ्नो साथी राजु मल्लिककोसमेत सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जले जनाएको छ ।