विराटनगर । गत शुक्रबार मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रीका कुमारी दास मृत अवस्थामा फेला परेकी थिइन् ।
सिराहाको फुल्काहकट्टी घर भएकी दासको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको थियो । घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएकी दासको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको थियो ।
दासको हत्यामा संलग्न रहेको आशंकामा एक युवालाई प्रहरीले खोजतलास गरिरहेको थियो । घटनापछि उनको प्रेमी भनिएका युवा शिवशंकर दास सम्पर्कविहीन थिए
। प्रहरीका अनुसार प्रेमी भनिएका युवकको मोबाइल नम्बरबाट ती नर्सका साथीलाई म्यासेज गरिएको पाइएको थियो । म्यासेजमा आफूले हत्या गरेको उल्लेख गर्दै बीभत्स अवस्थाको नर्सको शवको फोटो पनि पठाएका थिए । दास बसेकै घरमा रहेका उनका साथीहरू पनि नर्स भएको हुँदा ह्वाट्एपको माध्यमबाट उनीहरूलाई त्यस्तो म्यासेज आएपछि उनीहरूले घरधनीलाई जानकारी गराएका थिए। त्यसपछि घटनाबारे प्रहरीमा सूचना पुगेको थियो । प्रहरी टोली पुगेर घटनास्थलको अवस्था अध्ययन गरेको थियो ।
प्रहरीको खोजीमा रहेका युवा शिवशंकर दास पनि मृत अवस्थामा फेला परेका छन् । उनी विराटनगरको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति फेला परेका हुन्।
हत्या पछि फरार रहेको भन्दै प्रहरीले उनको खोजी कार्यलाई तिब्र बनाएको थियो । सोही क्रममा आइतबार दिउँसो विराटनगरको कन्चनबारीतिर शिवशंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको र ट्र्याक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो । ’होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । प्रेममा धोका हुने भएपछि हत्या गरेर आत्महत्या गरेको पाइएको छ ।
प्रहरीका अनुसार शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सिएमए सिराहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो । शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।
चन्द्रीकाको बिहीबार दिउँसो हत्या भएको र किचनमा प्रयोग हुने कटर प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ। उक्त कटर प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार शिवशंकरले ’मैले हत्या गरें, अब म पनि आत्महत्या गर्छु ।’ भनेर आफ्नी दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेका थिए।
आत्महत्या गरेका शिवशंकरको शवको सनाखत उनका दाजुले गरेका छन्। त्यसलगत्तै प्रहरीले घटनाको मुचुल्का उठाएको छ ।