November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

रूसी विपक्षी नेता नाभाल्नीलाई रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग

बर्लिन– रुसले विपक्षी नेता अलेक्सी नाभाल्नीलाई तत्काल रिहा गर्नुपर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन्। जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले रुसको आलोचना गरेपछि विदेश मन्त्रीको सो आग्रह आएको हो।

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नाभाल्नीलाई पक्राउ गरिएकोमा ट्विटरमार्फत टिप्पणी गरेका छन्। नाभाल्नीको रिहाको युरोपियन युनियन (इयु) द्वारा पनि माग भएको छ।

क्रेमलिनका आलोचक ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए। उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भीड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो।

Advertisement

गत अगस्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात बिरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो। फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ।

उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो। जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए।