काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका-१० इकाई समितिले आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम’मा बोल्दै सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि प्रहार गर्न खोजेको बताएका हुन् ।
सिंहले सहकारी प्रकरणमा सरकारका मन्त्रीहरुमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास रहेकाले सरकारले छानबिन समिति बनाउनुपर्ने बताए ।उनले सरकारले छानबिन समिति नबनाएर संसद्को क्षेत्राअधिकारमाथि प्रहार गरिरहेको आरोप लगाए ।
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि नहट्ने सिंहले बताए। उनले कांग्रेसका कारण भन्दा सरकारको कारण अहिले संसद् चल्न नसकेको बताए ।
उनले कांग्रेससँग जनताको धेरै आशा र भरोसा भएकाले कांग्रेस सुध्रिएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । युवालाई उत्पादनसँग जोड्न सकेमात्र देशले विकास हासिल गर्ने र विदेशिने युवाको सङ्ख्यामा कमी आउने बताए ।