August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

कानुन विपरित उपलब्ध गराएका पीएसओ २४ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले कानुन विपरित उपलब्ध गराएका पीएसओ २४ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानून बमोजिम विशिष्ठ व्यक्तिहरुलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरु बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरु फिर्ता गर्न गृहले निर्देशन दिएको हो।

गृह मन्त्रालयका अनुसा २४ घण्टाभित्र फिर्ता बोलाई त्यसको विवरण उपलब्ध गराउन नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालयलाई निर्देशन दिइएको छ।

गृहले विशिष्ठ व्यक्तिहरुको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्नरगराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधि विपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुबै प्रहरी संगठनलाई निर्देशन दिएको छ।

Advertisement

मन्त्रालयले यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ।

उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन गरेको हो।

विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई समयानुकूल परिमार्जनको गृहकार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ।