November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिनेछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरू माझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने बताएक छन् ।

आइतबार मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सवस्टेसनको आज उद्घाटन गर्दै उनले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, “उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु । नेपाल, भारत र बङ्गलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदैछ । यसले नेपालको जलविद्युत्को बजार विस्तार हुनेछ ।”

Advertisement

यस्तै, उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको र यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरू गरिरहेको पनि उनले बताए ।