काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रको प्रवर्द्धनको पक्षमा रहेको बताएका छन् ।
नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को २२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्ने काममा सरकार लागेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, “भर्खरै मात्र प्रस्तुत भएको नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गरिएको छ । अब हाम्रो ध्यान नीति तथा कार्यक्रमअनुरूपको बजेट निर्माणमा छ । यसपटकको बजेटले नीति तथा कार्यक्रमको लक्ष्य र प्राथमिकतालाई केन्द्र राख्ने कुरा पनि म जानकारी गराउन चाहन्छु।”
उनले ढुक्क भएर ऊर्जा क्षेत्रका आयोजनामा लगानी गर्न आह्वान गर्दै निजी क्षेत्रको संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले सम्भव सहयोग गर्ने बताए।
नयाँ ऊर्जाका साथ ऊर्जा क्षेत्रमा लगानी प्रोत्साहन गर्न, लगानी प्रबर्द्धनका निम्ति सरकारले लिएका नीतिहरूको प्रभावकारी सम्प्रेषण गर्न र आयोजना निर्माणमा थप तीव्रता दिन समेत आग्रह गरे ।
‘अवरोधहरू तोडौँ, स्वदेशी लगानीको प्रवर्द्धन गरौँ’ भन्ने नारासहित इप्पानको साधारणसभा आयोजना गरिएको हो । नेपालको निजी क्षेत्रले जलविद्युत् उत्पादनमा व्यापारिक र व्यावसायिक रूपमा काम गर्न थालेको साढे दुई दशक पूरा भएको छ । यसबीचमा नै सङ्गठित रूपमा इप्पान स्थापना भएर आज २२औँ वार्षिकोत्सव मनाउन लागेकोमा प्रधानमन्त्रीले खुशी व्यक्त गरे ।