काठमाडौं । गठ्ठाघरमा ट्राफिक प्रहरीले जाँच गरिरहेकै बेला मालबाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । बिहीबार ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासी र प्रहरीबीच झडप भएको हो ।
गठ्ठाघर चोकमा ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएर घिसारेको र घटनास्थलमै स्कुटर चालक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । केही प्रत्यक्षदर्शीले सुरूमा खुट्टामा मात्र किचेको र पछि ब्याक गरेर किचेको दाबीसमेत गरेका छन् ।
स्थानीयले ट्रक तोडफोड गरेर प्रहरीमाथि ढुंगा, इटा प्रहार गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको थियो । ट्रकमा लगाइएको आगो भने निभाइएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।