November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

रैथाने संगीतकर्मी झुमा लिम्बु पुरस्कृत

काठमाडौं । रैथाने संगीतकर्मी झुमा लिम्बु पुरस्कृत भएकी छन् । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले सोमबार नेपाल पर्यटन बोर्डमा एक समारोह आयोजना गरी लिम्बुलाई ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ प्रदान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिला जोशीको सभापतित्व तथा रङ्गकर्मी किरण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा लिम्बुलाई ताम्रपत्रसहित पचास–पचास हजार रुपैयाँ राशि प्रदान गरेको हो ।

पुरस्कृत लिम्बुबारे बोल्दै साहित्यकार महेश पौडेलले अचेल संगीतले अर्कै खालको कर्मठ लिइरहेको बेला यसरी संस्कृति, माटो र चिन्तनसँग जोडिएर अनुसन्धानसहित आउने संगीतकर्मीहरू संख्या दिनदिनै घट्दै जाँदा झुमा लिम्बु ‘काउन्टर पोन्ट’को रुपमा आएको बताए ।

Advertisement

झुमा लिम्बु २१ बर्षदेखि नेपाली लोक तथा रैथाने गीतसंगीतको अनुसन्धानमा सक्रिय छन् । ‘भञ्ज्याङ् कुर्नु’ बाट चर्चामा आएकी झुमाले ‘माया दौतरी’, ‘ए साइला’, ‘खासाम’, ‘साउन्ड् अफ मुन्धुम’ लगायतका सोलो एल्बमहरू स्रोतामाझ ल्याएकी छन् । उनले ‘जारी’, ‘उनको स्वीटर’, ‘डिग्री माइला’, ‘जार’ लगायत थुप्रै चलचित्रहरूमा संगीत दिएकी छन् भने सात सय बढी गीत रेकर्ड भएका छन् ।

यस्तै, प्रतिस्ठानले वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’द्वारा सम्मान गरेको छ भने ‘राष्ट्रिय कलाश्री पुरस्कार’ प्रतिभाशाली कवि, निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’ लाई प्रदान गरेको छ।

यसै गरी स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक निमेष निखिललाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक राजेश खनाललाई, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मिथिला कलाका साधक चित्रकार एससी सुमनलाई प्रदान गरेको छ ।

राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कारमा ताम्रपत्रसहित पचास–पचास हजार रुपैयाँ राशि रहेको थियो ।